बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा ज्ञानेन्द्र क्षेत्री र उनका छोरा एड्रियन क्षेत्रीले रजत पदक जितेका छन् ।

वर्ल्ड युनियन अफ मार्सल आर्ट्स फेडेरेसनको आयोजनामा गत अक्टोबर ९ देखि ११ सम्म इंग्ल्याण्डको क्रलीस्थित के टु एरेना (K2 Arena) मा भएको प्रतियोगितामा १३ वर्षीय एड्रियन र उनका ५२ वर्षीय पिता ज्ञानेन्द्र क्षेत्रीले रजत पदक प्राप्त गरेका हुन् ।

१७२ देशका खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा एड्रियनले अन्डर-१५ क्याटगोरीमा र उनका बुबा ज्ञानेन्द्रले अन्डर-६० क्याटगोरीमा सिल्भर मेडल जितेका छन् । यसबाहेक, फेमिली काता ओपन-वानमा पनि बाबु-छोराले अर्को रजत पदक हात पार्न सफल भए । यसअघि बर्लिनमा हुने भनिएको उक्त प्रतियोगिता यसपटक इंग्ल्याण्डमा सम्पन्न भएको थियो ।

लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ९ मा अध्ययनरत एड्रियनले गत वर्ष अन्डर-१५ क्याटगोरीमा स्वर्ण पदक र बुबा ज्ञानेन्द्रले अन्डर-६० मा रजत पदक जितेका थिए । एड्रियनले यसअघि अन्डर-१० र सन् २०२४ को ईयू च्याम्पियनसीप (अन्डर-१५) मा पनि पदक जितेका थिए । लन्डनको बार्नेटमा जन्मिएका एड्रियन ५ वर्षको उमेरदेखि नै यस खेलमा आबद्ध छन् । ‘वान डान’ एड्रियन जुनियर इन्स्ट्रक्टरसमेत हुन् ।

‘ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २४ वर्षदेखि वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत ज्ञानेन्द्र क्षेत्रीले यसअघि अन्डर-५० मा स्वर्ण पदक जितेका थिए । ब्ल्याक बेल्ट प्राप्त ज्ञानेन्द्र सिनियर इन्स्ट्रक्टर हुन् । प्रशिक्षणबाहेक कराते ‘डान’ ग्रेडिङ र आधिकारिक प्रमाणपत्र प्रदान गर्ने जिम्मेवारी पनि उनले सम्हाल्दै आएका छन् । छोरालाई कराते सिक्न लैजाने क्रममा आफू पनि यस खेलप्रति प्रेरित भएको उनले बताएका छन् ।

इन्जिनियर क्षेत्री गीतकारसमेत हुन् । उनको लेखन तथा गायक-गायिका तिलक बस्नेत र बन्दना पाण्डेको स्वर रहेको ‘पैसा पैसा’ भन्ने गीत तथा म्युजिक भिडियो निकै लोकप्रिय भएको थियो । यसबाहेक, उनको ‘पीर नगर निरमाया’ बोलको अर्को गीतको भिडियो पनि युट्युबमा उत्तिकै चर्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *