काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुनेछ ।

ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन् ।

सिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए ।

त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ तारिखसम्म आयोजना भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा आफ्नो स्थान बनाएका थिए ।

सिवाकोटीले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, मंगोलिया र भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । उनको अन्तर्राष्ट्रिय निर्णायक यात्रामा पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताहरू थपिँदै गएका छन् ।

सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लुटी प्रेसिडेन्ट्स कप (जी–३) ओपन तेक्वान्दो प्रतियोगितामा पनि सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी, सन् २०२६ मेमा मंगोलियाको उलानबटारमा भएको २७औं एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची–नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सिवाकोटीको अन्तर्राष्ट्रिय यात्रामा थाइल्यान्डको बैंककमा भएको चौथो हिरोज तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिप पनि जोडिएको छ । त्यहाँ उनी खेलाडीका रूपमा सहभागी भएका थिए र मास्टर टिम पुम्सेमा कांस्य पदक जितेका थिए ।

उनको प्राविधिक दक्षतालाई थप जिम्मेवारी दिँदै एसियन तेक्वान्दो युनियन (एटीयू) ले सिवाकोटीलाई सन् २०२६ का लागि आफ्नो टेक्निकल कमिटी सदस्यमा नियुक्त गरेको थियो । सिवाकोटीले सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा आयोजना भएको एटीयू रेफ्री एजुकेसन कोर्समा पनि सहभागिता जनाएका थिए ।

एसियाका ४० राष्ट्रका करिब एक सय रेफ्री सहभागी उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो । ती नियम सन् २०२६ जनवरी १ देखि लागू भएका छन् र एसियाली क्षेत्रमा आयोजना हुने प्रतियोगितामा प्रयोग हुँदै आएका छन् ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यका रूपमा प्रशासनिक तथा प्राविधिक जिम्मेवारीसमेत सम्हालिरहेका सिवाकोटीले नेपालमा रेफ्री विकासका गतिविधिमा पनि सक्रिय भूमिका खेल्दै आएका छन् । राष्ट्रिय निर्णायकका लागि रिफ्रेसर कोर्स तथा प्राविधिक प्रशिक्षण सञ्चालनमा उनको सहभागिता रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *