काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र त्रिभूवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान विभागबीच वार्षिक २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ ।

मास्टर्स इन स्पोर्ट्स अध्ययन गर्न वर्षमा २ जनाका दरले ५ वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका प्रमुख प्रा. पशुपति अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा त्रिभूवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. दुविनन्द ढकाल, एनएसएसएफका उपाध्यक्ष मोहनकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो । छात्रवृत्तिका लागि ब्रिज इन्टरनेसनलका निर्देशक प्रज्ज्वल गिरीले प्रायोजन गरेको महासचिव कार्कीले बताए ।

महासचिव कार्कीले खेल क्षेत्रमा लाग्नेलाई पढाइसंगै खेलकुदलाई अगाडि बढाउन छात्रवृत्तिले थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि त्रिभूवन विश्वविद्यालय र ब्रिज इन्टरनेसनल परिवारप्रति धन्यवाद आभार व्यक्त गरे ।

सोही अवसरमा एनएसएसएफले खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका संस्थापक प्रमुख प्रा.डा. रामकृष्ण महर्जन र महर्जनपछिका प्रमुख राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य गंगाबहादुर थापालाई पनि उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *