सुनसरीको इटहरीस्थित तरहरामा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगितामा सुभ बिहानी क्लब, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार तरहरा फुटबल क्लबको खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा युनाइटेड क्लब अफ तरहरा (ए), सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै सुभ बिहानी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सुभ बिहानीको जितमा दुबै गोल सन्दिप लिम्बुले गरे भने युनाइटेडका लागि रोदन राईले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सुभ बिहानीका दुई गोलकर्ता सन्दिप लिम्बु घोषित भए । उनले नगद एक हजारसहित ट्रफी हात पारे ।
प्रतियोगिताअन्तर्गत बुधबारको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल एपिएफ पकली, सुनसरी र युनाइटेड क्लब अफ तरहरा (बी), सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।
