ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सलहेस युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा तेस्रो क्वाटरफाइनल खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै सलहेसले अन्तिम चारमा स्थान सुरक्षित ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयको खेलमा सल्हेशका लागि खेलको १८औं मिनेटमा कप्तान प्रवेश दनुवारले गोल गर्दै अग्रता दिलाएका थिए । तर, गोलको खुसी साट्न नपाउँदै सातदोबाटोका कप्तान समिर तामाङले बराबरी गोल फर्काएका थिए ।
टाइब्रेकरमा सलहेसका फागुराम थारु, सनिष श्रेष्ठ, निसकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरे । रोहन कार्कीको प्रहार भने गोलमा परिणत हुन सकेन ।
सातदोबाटोका तर्फबाट विशाल भण्डारी, शिला (विदेशी खेलाडी) र श्याम मुर्मुले गोल गरे । तर, विश्व लामा र सामेल सुनुवारको प्रहार असफल भएपछि सातदोबाटोको यात्रा क्वार्टरफाइनलमै टुंगियो ।
खेलको म्यान अफ दि म्याच विजेता टिम सलहेसका गोलकिपर दीप कार्की भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको सोमबार हुने अन्तिम क्वार्टरफाइलनमा नेपाल पुलिस क्लब र झापा–११ बिच खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । भदौ १९ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
