नेपालले एसीसी यू–१९ महिला एसिया कप छनोटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा सना प्रविण ३९ बलमा २५ रन बनाएर अविजित रहिन् । सावित्री धामीले २३ बलमा २४ रन बनाउँदै उत्कृष्ट सुरुआत दिलाइन् । उनी रनआउट भएपछि क्रिजमा आएकी करुणा बिष्ट २४ बलमा १६ रन जोड्दै अविजित रहिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसिया २० ओभरमा ९ विकेट गुमाउँदै ६८ रनमा सीमित भयो ।

इन्डोनेसियाका लागि डेर्नी राम्बु बाङ्गीले अविजित ३४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कप्तान हिल्भा नुराउलिया सियामी लुकमानले ४ रन जोड्दा विकेटकिपर नी पुतु एलिन नोभिता देवीले ११ रन बनाइन् ।

नेपालकी मनिषा उपाध्यायले ४ ओभरमा मात्र ७ रन खर्चेर ४ विकेट लिइन् । अनु कडायतले २ विकेट हात पारिन् भने रचना कुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले समान १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *