लङ्का प्रिमियर लिग (एलपिएल) २०२६ का क्रममा म्याच फिक्सिङको प्रयास गरेको आरोपमा पक्राउ परेका भारतका पूर्व यु-१९ टोलीका क्रिकेटर तथा जाफना किङ्ग्सका सह-मालिक मनजोत कालराले आफूमाथि लागेका सबै आरोपहरूको खण्डन गरेका छन् ।

श्रीलंकाको खेलकुद अपराध अनुसन्धान शाखाले कालरालाई खेलाडीलाई प्रभाव पार्न र घुस दिन खोजेको अभियोगमा भर्खरै कोलम्बोबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि प्रतियोगिता सुरु हुनुभन्दा केही घण्टा अघि खेलाडीलाई ९५ लाख श्रीलङ्काली रुपैयाँ पेस्की रकम दिन खोजेको आरोप लगाइएको छ ।

आफ्ना कानुनी प्रतिनिधिमार्फत जारी बयानमा २७ वर्षीय कालराले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन् । “आफूले सधैँ खेलकुदको मर्म र इमानदारीलाई पालना गर्दै आएको र अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको” बताउँदै उनले छिट्टै सत्य तथ्य बाहिर आउने र आफू निर्दोष साबित हुने विश्वास व्यक्त गरेका छन् ।

अदालतमा उपस्थित गराइएका कालराको जमानत याचिका खारेज गर्दै कोलम्बो म्याजिस्ट्रेट अदालतले उनलाई जुलाई ३१ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

श्रीलंका क्रिकेट (एसएलसी) ले भने प्रतियोगिताको निष्पक्षता जोगाउन अनुसन्धान निकायलाई पूर्ण सहयोग गर्ने र भ्रष्टाचारविरुद्ध ‘जिरो टोलरेन्स’ को नीति अपनाउने स्पष्ट पारेको छ ।

सन् २०१८ को आइसिसी यु-१९ विश्वकप फाइनलमा शतक प्रहार गर्दै भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कालराले पछिल्लो समय खेलकुद व्यापारतर्फ मोडिएर जाफना किङ्ग्स टोलीमा सेयर खरिद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *