फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भिड्नुअघि अर्जेन्टिनाले आफ्नो प्रतिष्ठित गाढा निलो अवे जर्सी लगाउन फिफासँग औपचारिक अनुरोध गरेको छ । पछिल्लो जानकारीअनुसार फिफाले उक्त अनुरोध स्वीकार गरेको र सेमिफाइनलमा अर्जेन्टिना निलो अवे जर्सीमै मैदान उत्रिने तयारी रहेको बताइएको छ ।
रिपोर्टहरूका अनुसार यो निर्णय केवल जर्सी परिवर्तन मात्र होइन, अर्जेन्टिनाली फुटबल संस्कृतिमा गहिरोसँग जोडिएको “काबाला” (शुभ संकेत वा भाग्यमा विश्वास) सँग पनि सम्बन्धित छ । अर्जेन्टिनाले विगतमा इङ्ग्ल्यान्डविरुद्ध केही ऐतिहासिक जित हासिल गर्दा गाढा रङको जर्सी लगाएको स्मरण गर्दै त्यसैलाई शुभ संकेतका रूपमा दोहोर्याउन चाहेको बताइएको छ ।
अर्जेन्टिनाले यस विश्वकपमा पनि एक खेलमा यही अवे जर्सी लगाएर जित निकालेको थियो । त्यसपछि समर्थक र टोलीभित्र यही जर्सीलाई “लक्की जर्सी” का रूपमा हेर्ने विश्वास थप बलियो बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल खेलअघि जर्सीको यो निर्णयले खेलप्रतिको उत्साह अझ बढाएको छ । मैदानभित्रको रणनीतिसँगै अब जर्सीसमेत चर्चाको विषय बनेको छ ।
