काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् ।

एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्नेछन् । असोज ३ गतेदेखि सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

उनीहरुले करिब १ महिना बैंककस्थित हुआ मक स्केट पार्कमा प्रशिक्षण गर्ने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जनाएका छन् ।

महासचिव थापाले एकमहिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुंगो नलागेको बताए । बैंककमै प्रशिक्षणलाई निरन्तरता दिने विषयमा पनि कुरा भइरहेको महासचिव सत्यले बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गर्दै खेलाडीलाई उच्च मनोबलका साथ एसियाडमा प्रतिस्पर्धा गर्ने सुझाए ।

उनले एसियाडमा सहभागी हुने खेलाडीको १ वर्षको विमा गरिने बताउदै खेलाडीलाई अधित्तम सुविधा दिने विषयमा पनि प्रयासरत रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *