काठमाडौं । नेपालले खेलकुद इतिहासमा नयाँ अध्याय थप्दै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। शर्ट ट्रयाक स्पीड आईस स्केटिङ प्रतियोगितामा नेपाली खेलाडीहरूले पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
भारतीय आईस स्केटिङ संघको आयोजनामा, एसियाली आईस स्केटिङ महासंघ तथा अन्तर्राष्ट्रिय स्केटिङ महासंघको सहकार्यमा उक्त प्रतियोगिता भारतको देहरादुनमा आयोजना हुन लागेको हो।
प्रतियोगिता आगामी पुष १२ गतेदेखि १४ गतेसम्म देहरादुनस्थित महाराना प्रताप स्पोर्ट्स कम्प्लेक्स अन्तर्गतको हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा सञ्चालन हुनेछ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार यस प्रतियोगितामा नेपालबाट २ जना महिला र ४ जना पुरुष खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा सिनियर पुरुषतर्फको १ हजार मिटर स्पर्धामा रमेश मोक्तान र अरुण खत्वेले प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै जुनियर महिलातर्फको ५ सय मिटर स्पर्धामा परी गुरागाईं र अल्का घिमिरे सहभागी हुने निश्चित भएको छ। पुरुष जुनियर तर्फको २५० मिटर स्पर्धामा जेभिअर जंग थापा र सायोन अर्यालले नेपालको प्रतिनिधित्व गर्नेछन्।
टोलीको व्यवस्थापनतर्फ सन्जु श्रेष्ठ टिम म्यानेजरको रूपमा रहनेछिन् भने संघका महासचिव सत्य थापा आधिकारिक प्रतिनिधिका रूपमा प्रतियोगितामा सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी हुन लागेको नेपाली टोलीलाई बिदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो सहभागिता नेपालका लागि ऐतिहासिक र गर्वको क्षण भएको बताए।
उनले आईस स्केटिङ शीतकालीन ओलम्पिक खेलअन्तर्गत पर्ने खेल भएको उल्लेख गर्दै नेपालको भौगोलिक अवस्थासँग यो खेल अनुकूल रहेको र भविष्यमा यस खेलमार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना रहेको विश्वास व्यक्त गरे।
