एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ ।
युएईले अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ । भोलि बिहान तेस्रो स्थानको लागि खेल्ने छ ।
पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०० रन बनायो । उसका लागि मेहुल प्रणव कुलकर्णीले सर्वाधिक ३० रन बनाइन् भने लवान्या केनीले २५ तथा नेहा कुमारीले अविजित १९ रन जोडिन् ।
नेपालका लागि अनु कँडायत र रिया शर्माले समान ३–३ विकेट लिए । तिर्सना विश्वकर्माले २ तथा मनिषा उपाध्यायले १ विकेट हात पारिन् ।
१०१ रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा १०० रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो । नेपालका लागि अनु कँडायतले १५ बलमा २० रन बनाइन् भने सना प्रवीणले १७, अलिशा कुमारी यादवले १७ र सबित्री धामीले ८ रन जोडिन् ।
युएईका लागि वैश्नवी महेशले ३ विकेट लिइन् । साई निखिल थिटेले २ तथा जननी थिरुक्कुमरण र मेहक ठाकुरले समान १–१ विकेट लिए ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाउँदै ६ रन मात्र बनाउन सक्यो । कप्तान सोनी पाख्रिन २ तथा अनु कँडायत २ रनमा आउट हुँदा सबित्री धामी १ रनमा अविजित रहिन् ।
७ रनको लक्ष्य पछ्याएको युएईले तीन बलमै बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । कप्तान समाइरा धर्निधर्काले ३ बलमा अविजित ७ रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाइन् ।
