फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी बिक्री भएको हो । यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो ।

यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो ।

सन् २०२२ मा ९५ लाख डलरमा म्याराडोनाको जर्सी लिलामी भएको थियो । पेलेको जर्सीका लागि ५ जनाभन्दा धेरै सहभागीबाट १० वटा बोलकबोल परेको थियो ।

यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो । पेलेले १७ वर्षको उमेरमा सन् १९५८ मा स्विडेनविरुद्ध खेलेको विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए । विश्व फुटबलका दुवै महान् खेलाडी पेले र म्याराडोनाको निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *