पुष्पसदनले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा भएको प्रतियोगतामा पुष्पसदनले लालीगुराँस नेसनल एकेडेमीलाई ७४–७० ले पराजित गर्यो । पुष्पसदनका प्रसुन खड्गीले २० अंक जोडे ।
कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको प्रतियोगितामा गोल्डेनगेटले मिश्रित नतिजा निकाल्यो । गोल्डेनगेट ‘ए’ ले ओमेगालाई ६३–५९ ले हरायो । विजयी टिमका लागि नवोदित धामीले १४ स्कोर गरे । केभीसीले गोल्डेनगेट ‘बी’ लाई ६१–५५ ले पाखा लगायो । केभीसीका मन्दिप गुरागाईंले ३३ अंक जोडे ।
प्रतियोगिताको आयोजक हबका पूर्व अध्यक्ष एवं कन्सुलर फुर्साङ छिरिङ डोङले एक कार्यक्रमबीच उद्घाटन गरे । एइसीसीको प्रायोजन तथा केटो, श्री नव प्रभात डेरी र शुभलाभ बहुउद्देश्यीय सहकारीको सहयोगमा भइरहेको प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
‘म्यान अफ द म्याच’, ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट डिफेन्सिभ र ओफेन्सिभ खेलाडी तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ । कुल पुरस्कार राशी १ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
