लालीगुराँस र प्रिमियरले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा लालीगुराँसले ओमेगालाई ६६–४० ले पराजित गर्यो ।
लालीगुराँसको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । पहिलो क्वाटरमा २१–११ को अग्रता लिएको लालीगुराँस दोश्रोमा १५–१६ ले पछि पर्यो । लालीगुराँसले तेश्रोमा १४–८ र चौथोमा १६–५ स्कोर गर्दै जितअन्तर फराकिलो बनायो । अश्विन चालिसेको ३३ अंक सहयोगमा प्रिमियरले गोल्डेनगेट ‘बी’ लाई ५६–३८ ले हरायो । चारै क्वाटरमा अगाडि रहेको प्रिमियरले क्रमशः १५–८, १७–१४, ८–७ र १६–९ को प्रदर्शन गर्यो ।
एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगताको अन्य खेलमा सीसीआरसी र मानस्लुले सफलता पाए ।
सीसीआरसीले गोल्डेनगेट ‘ए’ लाई ६४–६० को झीनोअन्तरले पाखा लगायो । सीसीआरसीका विसान खड्काले २९ स्कोर गरे । सुरुको क्वाटरमा २०–२३ ले पछि परेको सीसीआरसीले दोश्रोमा २२–१३ को अग्रता बनउदै खेलमा फर्कियो । तेश्रोमा सीसीआरसीले १७–५ अंक जोड्दै अग्रता बढायो । चौथो क्वाटर गोल्डेनगेट ‘ए’ ले १९–५ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पर्याप्त भएन । मनास्लुले केभीसीमाथि १०२–६८ को सहज जित दर्ता गर्यो । मनास्लुका प्रदिन बोहराले २० अंक बटुले । पहिलो क्वाटरमा २१–१३ ले अघि रहेको मनास्लु दोश्रोमा १७–२६ ले पछि पर्यो । बाँकी दुई क्वाटरमा क्रमशः ३०–१५ र ३४–१४ को प्रदर्शन गर्दै मनास्लुले सहज जित आत्मासात् गर्यो ।
