ब्राजिलका महान फुटबल खेलाडी रोनाल्डो नाजारियोले पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको वर्तमान खेल स्तरलाई लिएर ठूलो टिप्पणी गरेका छन् । नाजारियोले क्रिस्टियानोको खेलमा उमेर र शारीरिक परिवर्तनका कारण आएको गिरावटबारे आफ्नो विचार राखेका हुन् ।
क्रिस्टियानो रोनाल्डोको स्तर साउदी प्रो लिगमा खेल्न ठीकै भए पनि विश्वकपका लागि भने पर्याप्त नभएको उनको बुझाइ छ ।
उनले भने, “क्रिस्टियानो रोनाल्डोको फुटबल करियर निकै लामो र लोभलाग्दो रह्यो । साउदी प्रो लिगमा खेल्नका लागि अहिले पनि उनको लेभल ठिकै होला, तर विश्वकप जस्तो उच्च मञ्चमा प्रतिस्पर्धा गर्न अब निकै गाह्रो छ, किनभने त्यहाँको स्तर धेरै माथि हुन्छ ।”
ब्राजिलियन लिजेन्ड नाजारियोले खेलाडीको बढ्दो उमेर र शरीरको सीमितताबारे व्याख्या गर्दै थपे, “एउटा समय आउँछ जब तपाईंको शरीरले नै तपाईंलाई अब पहिला जस्तो सकिँदैन भनेर संकेत दिन्छ । क्रिस्टियानो र नेयमार दुवै अहिले आफ्नो शरीरसँगको त्यो कठिन लडाइँ लडिरहेका छन्, जुन जित्न निकै गाह्रो हुन्छ ।”
