मोरङ । चौथो संस्करणको सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो ।
उपाधिसँगै इटहरी उपमहानगरपालिकाले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केराबारी गाउँपालिकाले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
इटहरी उपमहानगरपालिकाका निश कुमार श्रेष्ठ र असिम राईले गोल गर्दा केराबारी गाउँपालिकाका नगेन राईले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दि म्याच इटहरी उपमहानगरपालिकाका निश कुमार श्रेष्ठ घोषित भए । उनले नगद ४ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी केराबारी गाउँपालिकाका गोलरक्षक पूर्ण चेम्जोङ भए । उनले नगद १३ हजार ४ सय रुपैयाँ पाए । उत्कृष्ट गोलरक्षक इटहरी उपमहानगरपालिकाका बिबश चौधरी, उत्कृष्ट डिफेन्डर इटहरीकै मनिन्द्र याखा, उत्कृष्ट मिडफिल्डर इटहरीका असिम राई, उत्कृष्ट प्रशिक्षक इटहरीकै बिमल मगर, सार्वधिक गोलकर्ता बेलका नगरपालिकाका हिमाल मगर, उदयीमान खेलाडी सुन्दरहरैँचा नगरपालिकाका रियाज श्रेष्ठ घोषित भए । उनीहरूले जनही ६ हजार ७ सय रुपैयाँ र ट्रफी पाए ।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पाेख्रेल, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
