विराटनगर । पोखरिया युथ केयर एकेडेमी, विराटनगर, मोरङको आयोजनमा जारी एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कोशी मोडल स्कुल र नरग्राम माध्यमिक विद्यालय भिड्ने भएका छन् ।

विराटनगरको परोपकारघाट मैदानमा आइतबार सम्पन्न सेमिफाइनल खेलबाट कोशी मोडल स्कुल र नरग्राम माध्यमिक विद्यालय विजयी हुँदै फाइनलमा पुगेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा कोशी मोडल स्कुलले डन बस्को स्कुललाई ४-२ ले पराजित गर्यो । कोशी मोडलको जितमा यश राज माझीले दुई तथा एमडी मासुम र निरज चौधरीले समान १-१ गोल गरे । डन बस्कोका लागि प्रकाश कामत र तनुज राजबंंशीले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच कोशी मोडलका यश राज माझी चुनिए ।

दोस्रो सेमिफाइनल खेलमा नरग्राम माध्यमिक विद्यालयले आदर्श माध्यमिक विद्यालयलाई सडेन डेथमा ५-४ ले हरायो । खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएसँगै नतिजाको लागि टाइब्रेकर प्रयोग गरियो टाइब्रेकर भने ३-३ गोलको बराबरीमा सकियो । खेलको म्यान अफ दि म्याच नरग्रामका गोलरक्षक आरभ माझी घोषित भए ।

प्रतियोगिताको उपाधि भिडन्तका लागि कोशी मोडल स्कुल र नरग्राम माध्यमिक विद्यालय मंगलबार आमने–सामने हुनेछन् । खेल दिनको ४ बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रूपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *