बिर्तामोड । झापाको बिर्तामोडमा आइतबारदेखि दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा उर्लाबारी एफसी, मोरङले विजयी सुरुआत गरेको छ । उर्लाबारी एफसीले न्यु स्टार क्लब, झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
उर्लाबारीको जितमा मिलन लिम्बूले दुई तथा असिम राई र राजेश दाहालले समान एक-एक गोल गरे । न्यु स्टारका लागि शक्ति राईले सान्त्वना गोल फर्काए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारीका मिलन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
च्यालेन्ज कपमा सोमबारको दोस्रो क्वार्टरफाइनल खेल सनिश्चरे फुटबल क्लब, झापा र कन्काई स्पोर्टिङ क्लब, झापाका बीच हुनेछ । झापा र मोरङका गरी ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
