बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगितामा बगान युथ क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा बेलबारी एफसी, मोरङलाई १-० गोलले पराजित गर्दै बगानले अन्तिम चारमा स्थान बनाएको हो ।
बगानको जितमा हेमन लिम्बूले निर्णायक गोल गरेका हुन् ।उनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बगानका सञ्जय लिम्बू घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
च्यालेन्ज कपमा बुधबारको चौथो क्वार्टरफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र चन्द्रगढी एफसीका बीच हुनेछ । झापा र मोरङका गरी ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
