विराटचौक । केराबारी गाउँपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा केराबारी गाउँपालिकाले शिवसताक्षी नगरपालिकालाई २–१ गोल अन्तरले हरायो ।

केराबारी गाउँपालिकाको जितमा भुवन बस्नेत र नितेश लिम्बूले समान १-१ गोल गरे । शिवसताक्षी नगरपालिकाका लागि निरज श्रेष्ठले एक गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच केराबारी गाउँपालिकाका नितेश लिम्बू घोषित भए । उनले नगद ४ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलि मंगलबारको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिकाबीच हुनेछ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *