काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको पहिलो दिन तीनवटा मैदानमा गरी ६ खेल सम्पन्न भए। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा डीएभी सुशील केडिया विश्व भारती स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनले पराजित गर्यो । डीएभीले दिएको २४२ रनको लक्ष्य पछ्याएको नेक्सस १२.४ ओभरमा ४८ रनमै समेटियो । डीएभीका केशव अग्रवाल र तनिष शाहले समान ३–३ विकेट लिए । यसअघि डीएभीले कमल शाहीको अविजित ९९, आरुष झाको ५६ तथा प्रसिद्ध जैशीको ४० रनको मद्दतमा २ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
सोही मैदानमा भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालयले त्रियोग उच्च माध्यमिक विद्यालयलाई १२२ रनले हरायो । १८७ रनको लक्ष्य पछ्याएको त्रियोग १०.३ ओभरमा ६४ रनमा अलआउट भयो । अनिश खड्काले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सैनिकका रोशन तिवारीले ४ तथा अमन मिश्राले ३ विकेट लिए । यसअघि राजदीप आचार्यले ६७ बलमा १६ चौका र २ छक्कासहित अविजित ११५ रन बनाएपछि सैनिकले ४ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो ।
तल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ९० रनले पराजित गर्यो । १४४ रनको लक्ष्य पछ्याएको ह्वाइटहाउस १६.१ ओभरमा ५३ रनमा समेटियो । ग्यालेक्सीका मिङ्मा तामाङले ३ तथा स्वीकृत रिजालले २ विकेट लिए । यसअघि ग्यालेक्सीले स्वीकृत रिजालको ३३ रनको मद्दतमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
सोही मैदानमा भएको दोस्रो खेलमा अपी स्कुलले एन्जल्स हार्ट नेसनल स्कुललाई ८ रनले पराजित गर्यो । १२८ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।
यता, त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा मोक्षदा स्कुलले विज्डम इङ्ग्लिस एकेडेमीलाई १२३ रनले हरायो । १६५ रनको लक्ष्य पछ्याएको विज्डम ९.४ ओभरमै ४१ रनमा अलआउट भयो । मोक्षदाका गौतम कुमार पटेलले ४ ओभरमा ४ रन मात्र खर्चेर ७ विकेट लिए । यसअघि मोक्षदाले संश्रय श्रेष्ठको ५६ र आरोन गिरीको ३६ रनको मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
सोही मैदानमा भएको दिनको अन्तिम खेलमा अक्षरा स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई डकवर्थ–लुइस (डीएल) विधिअनुसार ६ विकेटले पराजित गर्यो । वर्षाले प्रभावित खेलमा रत्न राज्यले १६ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । ८५ रनको लक्ष्य पछ्याइरहेको अक्षराको इनिङ्स ७.१ ओभरमा वर्षाले प्रभावित बनेपछि डीएल विधिअनुसार अक्षरा विजयी घोषित भयो ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि तीनवटै मैदानमा दुई–दुई खेल गरी कुल ६ खेल हुनेछन् ।
आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा कुल २४ टिम सहभागि छन् । प्रतियाेगिताकाे मुख्य प्रायाेजक एसियन ई–लर्निङ प्रालि रहेकाे भने सह–प्रायोजकमा ई–सेवा रहेको छ । एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन् ।
