काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गत रहेको पोखरा विश्वविद्यालय फुटबल क्लबले ‘पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३’ को तेस्रो संस्करण आगामी जेठ २९ गतेदेखि असार ५ गतेसम्म आयोजना गर्ने भएको छ ।
कास्कीको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपालभरका विश्वविद्यालयस्तरीय कलेज तथा शैक्षिक संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष बिमान प्रधानका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कक्षा सञ्चालन गरिरहेका कलेजहरूलाई खेलकुदमार्फत जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विभिन्न व्यक्तिगत विधामा पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीले ३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीलाई जनही २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै क्वार्टरफाइनल चरणदेखि प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई १ हजार रुपैयाँसहित ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने ५ हजार रुपैयाँ कार्ड डिपोजिट (फिर्ता योग्य) राखिएको छ । पहेंलो कार्डबापत २०० रुपैयाँ र रातो कार्डबापत ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
आयोजकका अनुसार टोली दर्ताको अन्तिम मिति जेठ २७ गते तोकिएको छ भने टाइ–सिट ड्र जेठ २८ गते गरिनेछ ।
