काठमाडौं । जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २० औँ एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष-महिला खेलाडी छनोट गरिएको टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

संयोग कपाली प्रथम, रुबिन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय हुँदै छनोट भए । महिलामा नविता श्रेष्ठ पहिलो, इभाना थापा दोश्रो र योङ्गी पौडेल तेश्रो बन्दै छानिए ।

छनोट प्रतियोगितामा यहि जेठमा भएको ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा पुरुष-महिला एकलतर्फ शीर्ष ८–८ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्की नवनियुक्त कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ रहेकी थिइन् ।

सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघले उनलाई बधाई दिदै सम्मान गरेको थियो । कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुबेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *