बुढानिलकण्ठ नगरपालिकाले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको समूह बी मा रहेको बुढानिलकण्ठले मंगलबार ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा बुढानिलकण्ठले १४-१४, १२-८, १७-२३, १४-५ को प्रदर्शन गरेको थियो ।

खेलमा बुढानिलकण्ठकी अनुसा मल्लले सर्वाधिक २७ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् । समूह बी मा बुढानिलकण्ठ ६ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ७७-६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

एकपक्षिय खेलमा ट्रेनिङ ग्राउण्डले ३३-०, १४-४, १७-०, १३-२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

ट्रेनिङ ग्राउण्डकी विनामनी योन्जनले सर्वाधिक १५ अंक जोडिन् भने हिरा बोहरा प्लेअर अफ दि म्याच घोषित भइन् । तीन मध्ये दुई जित र एक हारबाट ५ अंक जोड्दै ट्रेनिङ ग्राउण्ड उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै समूह ए अन्तर्गत मंगलबार सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भए । सुनसरीले रोमाञ्चक खेलमा आइएस नेपाललाई ३८-३६ को अन्तरले हरायो ।

सुरुवाती दुई क्वाटरमा आइएसलृ ४-३ र १०-७ को अग्रता लिएपनि सुनसरीले तेस्रो क्वाटर १३-१३ को बराबरी गरेको थियो भने चौथो क्वाटर १५-९ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित हात पारेको हो ।

यस खेलमा सुनसरीकी हिमखेन लिम्बुले ८ अंक स्कोर गरिन् भने सनिता लिम्बु प्लेअर अफ दि म्याच घोषित भइन् ।

यस्तै अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो । अन्तपूर्णले खेलमा १५-९, ५-७, ९-९, १९-१६ को प्रदर्शन गरेको थियो । अन्नपूर्णकी निर्भय शर्माले सर्वाधिक २५ अंक स्कोर गरिन् र शर्मा नै प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह ए बाट आइएस समूह विजेता र सुनसरी समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् ।

अब सेमिफाइनलमा समूह ए को विजेता आइएसले समूह बी को उपविजेता ग्राण्डी स्टार्सँग खेल्नेछ भने समूह बी को विजेता बुढानिलकण्ठले समूह ए को उपविजेता सुनसरीसँग खेल्नेछ ।

दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ ।

नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।

प्रतियोगितामा सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गरेका हुन् ।  

असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *