काठमाडौं । नेपाल हाप्किडो संघको आयोजनामा ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ आगामी असार २० र २१ गते गण्डकी प्रदेशको तनहुँ जिल्लामा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पदाधिकारी सहभागी हुने संघले जनाएको छ ।

विभिन्न उमेर र तौलसमूहमा हुने प्रतियोगितामा व्यक्तिगत स्पर्धा, समूह प्रदर्शन (टिम डेमोन्स्ट्रेसन), आत्मरक्षा प्रदर्शन र विशेष प्रदर्शनी समावेश गरिनेछ ।

संघका महासचिव इन्द्रबहादुर महराका अनुसार प्रतियोगिताको उद्देश्य हाप्किडो खेलको विकास, खेलाडीको प्राविधिक क्षमता अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन र नयाँ प्रतिभाको पहिचान गर्नु हो । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पदक, प्रमाणपत्र र आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सम्भावित खेलाडी छनोटमा समेत सहयोग पुग्ने संघको विश्वास छ ।

गत वर्ष १०औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको थियो । संघले हरेक वर्ष राष्ट्रिय प्रतियोगिता सँगै प्रशिक्षक प्रशिक्षण, प्राविधिक सेमिनार र क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *