काठमाडौं । नेपाल पोडी संघले तेस्रो नेपाल एथलेटिक्स च्याम्पियनसिपमा आफ्ना खेलाडीमाथि अन्याय भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको निर्णयप्रति आपत्ति जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघले प्रतियोगिताको प्रारम्भिक सूचनाअनुसार खेलाडी छनोट तथा तयारी गरिएको भए पनि प्रतियोगिताको अन्तिम चरणमा पुग्दा खेलका नियम तथा मापदण्ड परिवर्तन गरिएको आरोप लगाएको हो ।
संघका अनुसार च्याम्पियनसिपअघि जारी गरिएको सूचनामा ८०० मिटर दौडका शीर्ष आठ खेलाडी फाइनलमा पुग्ने उल्लेख गरिएको थियो । सोही आधारमा खेलाडीलाई तयारी गराइएको भए पनि प्रतियोगिता सञ्चालनका क्रममा उक्त नियम परिवर्तन गरी फाइनलमा सहभागी हुने खेलाडीको संख्या घटाइएको जनाइएको छ ।
नेपाल पोडी संघले राखेप र नेपाल एथलेटिक्स संघले प्रतियोगिता चलिरहेकै बेला नियम परिवर्तन गरेर खेलाडीमाथि अन्याय गरेको दाबी गरेको छ । संघका पदाधिकारीहरूले खेलकुदमा निष्पक्षता र पारदर्शिता हुनुपर्नेमा जोड दिँदै प्रतियोगिता सञ्चालनका क्रममा नियम परिवर्तन गर्नु खेलभावना विपरीत भएको बताएका छन् ।
संघले अन्तिम सातामा प्रकाशित सहभागी खेलाडीको नामावली र प्रतियोगिताका क्रममा अपनाइएका मापदण्डबीच पनि भिन्नता देखिएको जनाएको छ । यसले खेलाडी तथा प्रशिक्षकहरूलाई अन्योलमा पारेको र प्रतियोगिताको विश्वसनीयतामाथि प्रश्न उठाएको संघको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका प्रतिनिधिहरूले खेलाडीलाई नियमविपरीत ढंगले प्रतिस्पर्धाबाट बाहिर राखिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरूले दोषीमाथि आवश्यक कारबाही तथा पीडित खेलाडीलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
नेपाल पोडी संघले खेलकुद क्षेत्रको सुशासन, पारदर्शिता र नियमको सम्मान कायम राख्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न समेत अनुरोध गरेको छ । साथै, खेलाडीको भविष्य र खेलको गरिमामाथि असर पर्ने निर्णयहरू पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । संघले आफ्ना आवाज सुनुवाइ गर्न र घटनाको निष्पक्ष छानबिनका लागि खेलकुद समुदाय तथा सरोकारवाला निकायको सहयोग अपेक्षा गरेको जनाएको छ ।
