काठमाडौं । काठमाडौंमा जारी पीएल सिंह मेमोरियल टी२० कपमा काठमाडौँ र पोखरा महानगरपालिकाले आ–आफ्नो खेलमा सानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
प्रतियोगिताको १२औँ खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ३ विकेटले पराजित गर्यो ।
उक्त खेलमा काठमाडौँले टस जिती पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनायो, जसमा सुजन थपलियाले ३९ र दीपक पासवानले अविजित २९ रन जोडे । बलिङतर्फ काठमाडौँका कृष कार्कीले २ विकेट तथा बिशाल भुयाल र सन्दिप पराजुलीले पनि समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँले १८ ओभरमा ७ विकेट गुमाउँदै १४३ रनको लक्ष्य पुरा गर्यो । काठमाडौँको जितमा ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेलेका शिवम् तिवारी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए भने रीत गौतमले २५ रनको योगदान दिए । विराटनगरका कृष शर्मा, प्रतिक पोखरेल र दिपेश कँडेलले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । शिवम् तिवारी खेलको ‘ प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको १३औँ खेलमा पोखरा महानगरपालिकाले ललितपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित निकाल्यो । खेलमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६६ रनको बलियो योगफल खडा गरेको थियो । ललितपुरका लागि आदिल खानले ४८ बलमा ८३ रनको विस्फोटक पारी खेले भने रोशन विकले अविजित ३२ रन बनाए । पोखराका अपराजित पौडेलले २ विकेट लिए ।
१६७ रनको लक्ष्य पछ्याएको पोखराले मात्र १७.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गर्यो । पोखराको जितमा अर्जुन कुमालले ६३ रन र दीपक दुम्रेले ५६ रनको उत्कृष्ट इनिङ्स खेले । ललितपुरका विधान खतिवडा, सूर्य तामाङ र गणेश गौतमले १–१ विकेट लिए । बलिङमा १ विकेट लिनुका साथै ब्याटिङमा ५६ रन जोडेका पोखराका दीपक दुम्रे खेलको ‘ प्लेयर अफ दि म्याच चुनिए ।
अब उपाधिका लागि काठमाडौँ र पोखराबीच फाइनल भिडन्त हुनेछ ।
