सुशान्त कडेल, यश्वी श्रेष्ठ, आरोह न्यौपाने र श्रीषा कडेल ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा आज सम्पन्न प्रतियोगिताको यु-१८ ब्वाइजमा सुशान्त १५ अंक सहित पहिलो भए । १४ अंक बनाएका निर्जल श्रेष्ठ दोस्रो र १२ अंक सहित टारूस मोर तेस्रो भए ।
यु-१८ गल्सतर्फ यश्वीले उपाधि जितिन् । उनले १२ अंक जोडिन् । काउन्ट ब्याकमा रिजु राई दोस्रो हुँदा अनुषा मैनाली तेस्रो भइन् । दुवैले ५ अंक बनाएका थिए ।
यु-१४ ब्वाइजमा आरोहले १२ अंक बनाउँदै उपाधि जिते । ११ अंक बनाएका बिर्सन राई दोस्रो र ६ अंक जोडेका लसन शाक्य तेस्रो भए । यु-१४ गल्समा श्रीषा कडेलले काउन्ट ब्याकमा उपाधि जितिन् । उनले र सुहबी बास्ताकोटीले समान ५ अंक बनाएका थिए । सुहबी काउन्ट ब्याकमा दोस्रो भइन् । ३ अंक सहित अदृती थापा तेस्रो भइन् ।
नेपाल गल्फ संघद्वारा ओलम्पिक डेको अवसरमा आयोजित नौ होलको प्रतियोगितामा ३० जुनियर गल्फरको सहभागिता रहेको थियो । विजयी खेलाडीहरुलाई शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बा र लेडी क्याप्टेन आर्शिया बानुले पुरस्कार वितरण गरे ।
