काठमाडौं । जोरपाटी उसु क्वानको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सञ्चालन भएको पाँचौँ उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
जेष्ठ १५ गतेदेखि १७ गतेसम्म तीनदिन सञ्चालन भएको प्रतियोगितामा ईस्टपोल उसु क्वान १२ स्वर्ण, ६ रजत र ६ कांस्य पदकसहित टिम च्याम्पियन बन्न सफल भएको छ ।
प्रतियोगितापछि प्रतिक्रिया दिँदै प्रमुख प्रशिक्षक विजय सिन्जालीले खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र अनुशासनका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए । प्रतियोगितामा अलकेमिस्ट उसु क्वान ६ स्वर्ण, १ रजत र ५ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो ।
टिमका प्रशिक्षक पासाङ शेर्पाले यस सफलताले खेलाडीहरूको मनोबल अझ उच्च बनाएको बताए । त्यस्तै, मनमैजु उसु क्वान ५ स्वर्ण, ९ रजत र ८ कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भयो ।
व्यक्तिगत उत्कृष्टतर्फ पुरुष थाओलु विधामा अलकेमिस्ट उसु क्वानका पेमा ग्याल्बो लामा उत्कृष्ट खेलाडी घोषित भए भने महिला थाओलु विधामा जोरपाटी उसु क्वानकी युमी अवाल उत्कृष्ट खेलाडी चुनिइन् । त्यसैगरी, सान्दा पुरुषतर्फ दक्षिणकाली उसु क्वानका सागर गुरुङ र महिला सान्दातर्फ प्रज्ञा स्कुलकी दिया सलामी उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको पाँचौँ संस्करण सम्म आइपुग्दा ठूलो संख्यामा प्रतिभाशाली तथा उत्कृष्ट जुनियर खेलाडीहरूको सहभागिता रहेको जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायण श्रेष्ठले जानकारी दिए । उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा उसु खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
