धनकुटामा जारी १८औँ सहिद भीमनारायण स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटा र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै बेलबारीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बेलबारीको जितमा विदेशी खेलाडी  सलमान किङ नायक बने। उनले ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। खेलको २९औँ मिनेटमा पहिलो गोल गरेका किङले पहिलो हाफको इन्जुरी समयमा थप एक गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ३१औँ मिनेटमा पुनः गोल गर्दै उनले व्यक्तिगत ह्याट्रिक पूरा गरे ।

उत्कृष्ट प्रदर्शन गरेका सलमान किङ खेलको ‘म्यान अफ द म्याच’ भए। उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धनकुटाले सिराहाको सहलेस फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। आयोजकका लागि अमित बेसराले निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ। उपाधि विजेता टोलीले नगद ६ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *