काठमाडाैं । पोखराको खेलकुद इतिहासमा एउटा प्रतिष्ठित पहिचान बनाइसकेको ‘दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड’ केवल पुरस्कार वितरण कार्यक्रम मात्र होइन, यो नेपाली खेलकुदको संघर्ष, समर्पण र सफलताको उत्सव पनि हो । वर्षभरि आफ्नो खेलमार्फत देश र प्रदेशको गौरव बढाउने खेलाडी, प्रशिक्षक र खेल व्यक्तित्वहरूको सम्मान गर्दै आएको यो अवार्डले हरेक वर्ष नयाँ प्रेरणादायी कथाहरू उजागर गर्दै आएको छ ।

यसपटक पनि विभिन्न विधाका उत्कृष्ट खेलाडीहरू आफ्नो अथक मेहनत, अनुशासन र उपलब्धिका कारण चर्चामा छन् । भलिबल कोर्टमा नेतृत्व र उत्कृष्ट प्रदर्शनमार्फत दर्शकको मन जितेका सञ्जु विक्रम शाह, जुडो म्याटमा निरन्तर सफलता हासिल गर्दै पोखराको गौरव बनेका विज्ञान टि खत्री, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय टेनिस कोर्टमा नेपाली झण्डा फहराइरहेका प्रदीप खड्का— यी तीन खेलाडीले आफ्नो खेल यात्रामार्फत नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याइरहेका छन् ।

उनीहरूको संघर्ष, सफलता र खेलप्रतिको समर्पणले आज हजारौं युवालाई प्रेरणा दिइरहेको छ । ‘दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड’को विशेष अवसरमा प्रस्तुत छन् नेपाली खेलकुदका यी तीन प्रतिभाशाली खेलाडीहरूको प्रेरणादायी यात्रा ।

भलिबलका बादशाह उर्फ ‘सञ्जु विक्रम शाह’
भलिबल कोर्टको त्यो जादुमय प्रहार र टिमलाई डो¥याउने एउटा सन्तुलित नेतृत्व ! नेपाली भलिबल जगतको एउटा यस्तो नाम, जसले आफ्नो खेल र मौनताबाट सबैको मन जितेका छन्। उनी हुन् सञ्जु विक्रम शाह।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा पिता बुद्धिबहादुर शाह माता सपना शाहको कोखबाट २०५० साल मंसिर ३० गते जन्मिएका सञ्जुको भलिबलसँगको साइनो एसएलसीपछि गाँसिएको हो।

त्यसपछिको निरन्तर लगाव र मेहेनतले उनलाई २०६७ सालमा पश्चिमाञ्चलको टिमबाट व्यवसायीक खेल सुरु गर्ने मौका दिलायो। जिल्ला, प्रदेश हुँदै, राष्ट्रिय तथा अन्तिराष्ट्रिय प्रतियोगितासम्मको दरिलो अनुभव बटुलेका उनलाई यतिबेला गण्डकी प्रदेश भलिबल संघको कप्तानको जिम्मेवारीसम्म पु¥याएको छ।

सन् २०१५ मा बंगलादेशको ढाकामा भएको एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली टोली सदस्यका रुपमा उनको सहभागिता रह्यो।

सन् २०१९ मा नेपालमा भएको साउथ एसियन गेम्समा राष्ट्रिय टोली सदस्यकै रुपमा खेल कौशल देखाए। यस्तै सन् २०२४ मा काठमाडौंमा भएको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लबबाट सहभागी हुँदै फस्ट रनरअफ बने।

काठमाडौंमा भएको आठौं आरबिबी एनभिए मेन्स भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लबबाट खेल्दै टिमलाई उपाधि मात्रै दिलाएनन् आफु स्वयम व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्लकरका रुपमा पुरस्कृत पनि भए। सोही वर्ष पोखराको लामाचौरमा भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै टोलीलाई च्याम्पियन बनाए र सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए। यस्तै पाँचौ एनसेल टाइगर कप २०८१ मा होमटिम गण्डकी प्रदेशलाई फस्ट रनरअप बनाउन योगदान दिँदैं व्यक्तिगत विधा बेस्ट सर्भरको उपाधि जिते।

गत वर्ष २०८२ सञ्जुका लागि महत्वपूर्ण वर्ष सावित भयो। साउनमा रुकुम पूर्वमा आयोजित राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा तृतीय स्थान हाँसिल गरे।

त्यसपछि पोखरामा भएको छैटौं एनसेल टाइगर कपमा भने टिमलाई उपाधि दिलाए। र फागुनमा नवलपुरमा आयोजित दोस्रो जिएम समाज राष्ट्रिय भलिबल कपमा आफ्नो टिमलाई प्रथम बनाउन उनले निर्णायक भूमिका खेल्दै सर्वाेत्कृष्ट खेलाडीको उपाधि आफ्नै पोल्टामा पार्न सफल रहे।

सञ्जुको खेल कौशलले नेपालको सिमा नाघेर हङकङ, बंगलादेश, श्रीलंका, युएई, कतार र भारत जस्ता देशहरूमा समेत स्थान बनाइसकेको छ। विभिन्न प्रतिष्ठित च्याम्पियनसिपमा जादुमय खेल प्रदर्शन गर्दै पटक–पटक ‘सर्वोत्कृष्ट खेलाडी’ बनेका सञ्जु, आज धेरै युवा खेलाडीहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।

अनुशासन, मेहेनत र अटुट धैर्यताको प्रर्याय बनेका सञ्जु विक्रम शाहलाई ‘दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड’को यो अवसरमा धेरै–धेरै शुभकामना !

‘विज्ञान टि खत्री’
प्रकृति र संस्कृतिमा धनि सहर पोखरा। यही माटोमा एउटा यस्तो प्रतिभा हुर्किरहेको छ, जसको नसा–नसामा खेलकुदको जोश र मुटुमा देशका लागि केही गर्ने अदम्य साहस छ। उनी हुन्, विज्ञान टि खत्री।

२०६२ साल जेठ १ गते जन्मिएका उनी नाम जस्तै हरेक कुरामा तार्किक र मिहिनेती छन्। जिज्ञासु स्वभाव, मिलनसार बानी र नथाक्ने जाँगर नै उनको परिचय हो। विगत ७ वर्षदेखि जुडोको म्याटलाई आफ्नो सारथी बनाउँदै आएका विज्ञान, कोच रवि चौधरीको सन्तुलित मार्गदर्शनमा अघि बढिरहेका छन्। ९० केजी तौल समूहमा उनको प्रहार जति बलियो छ, उनको संयमता र अनुशासन उत्तिकै लोभलाग्दो छ।

विज्ञानको सफलता कुनै संयोग होइन, यो त निरन्तरको साधना हो। सन् २०१८ मा पोखरा रंगशालाबाट सुरु भएको उनको स्वर्ण यात्राले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। सन् २०२३ को अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जित्दा होस् वा २०२४ को राष्ट्रिय जुडोमा प्रथम हुँदा, उनले हरेक पटक आफ्नो क्षमता त्यही पदकमार्फत प्रमाणित गरिसकेका छन्।

विज्ञानले देशको सिमाना काट्दै बंगलादेशको माटोमा ‘बिकेएसपी कप’ मार्फत अन्तर्राष्ट्रिय कास्य पदक भित्र्याउँदा उनले देशको गौरव बढाएका छन्। हेटौँडामा भएको २०औं संस्करणमा रजत र सन् २०२६ मा काठमाडौंमा आयोजित आठौं नेकोस अन्तर्राष्ट्रिय जुडोमा स्वर्ण पदक चुमेर आफूलाई जुडोको नक्षेत्रका रूपमा स्थापित गरेका छन्।

उनी भन्छन् ‘मिहिनेत र परिश्रम नै सफलताको एकमात्र कडी हो। त्यसैले अथक प्रयास र निरन्तरको लगाव भयो भने कुनै पनि लक्ष्य असम्भव भन्ने छैन ।’

हारसँग नडराउने र जितमा नमात्तिने विज्ञानको यो यात्रा अविचलित रहिरहोस्। ‘दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड’को यो अवसरमा पोखराको शान र नेपालको मान बन्ने लक्ष्यका साथ म्याटमा भिडिरहेका यी योद्धालाई धेरै–धेरै शुभकामना !

प्रदीप खड्का
कडा मेहनत, अटुट लगनशीलता र खेलप्रतिको समर्पण, यी तीन शब्दले भरिएका टेनिस खेलाडी हुन् प्रदीप खड्का। जसको हरेक सटले विपक्षीलाई दबाबमा राख्छ। २०५४ सालमा पोखरामा जन्मिएका प्रदीप, नेपालको टेनिस जगतमा एक सफल र टप र्याङ्किङ खेलाडीको रूपमा परिचित छन्। निकै कम उमेरदेखि नै र्याकेट समातेका उनी आज नेपाली टेनिसको सबैभन्दा भरपर्दा खेलाडी बनेका छन्।

२०६५ सालदेखि व्यवसायीक खेल खेल्न सुरु गरेका उनको करियरको ग्राफ उकालो लागिरहेको छ। १२औं सिटिजन्स बैंक ओपन टेनिस, तेस्राे वीर गणेशमान सिंह राष्ट्रिय टेनिस जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा उनले पुरुष एकलको उपाधि जितेर आफ्नो सर्वोच्चता पुष्टि गरेका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको प्रदर्शन उत्कृष्ट छ। २०२२ को हाङझाउ एशियन गेम्समा उनले इतिहास नै रचेका थिए। साथै, डेभिस कपमा नेपालको प्रतिनिधित्व गर्दै उनले ऐतिहासिक जितहरू हात पारिसकेका छन्।

कोच निराज थापा र लि विलियम्सको मार्गदर्शन नै उनको अदम्य साहस बनेको छ। मलेसियामा आयोजित डेभिस कप ग्रुप फोरमा नेपालको प्रतिनिधित्व गर्दा, प्रदीपले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सटिक खेल र दृढताको छाप छाडिसकेका छन्। २०८२ साल प्रदीपका लागि उपलब्धिहरूको एउटा सुनौलो वर्ष सावित भयो। उनको ¥याकेटले केवल बललाई मात्र प्रहार गरेन, सफलताका नयाँ रेकर्डहरू पनि बनायो।

तेस्रो सिओएस खुला टेनिस प्रतियोगितामा प्रदीपले पुरुष सिंगल र डबल दुवैमा ‘स्वर्ण पदक’ चुम्दै आफ्नो वर्चस्व कायम गरे। त्यस्तै, होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपनमा पनि सिंगलतर्फको स्वर्ण पदक उनकै पोल्टामा रह्यो। यस्तै २२औं माछापुच्छ्रे बैंक खुला टेनिसमा उनले पुरुष डबलमा स्वर्ण र सिंगलमा रजत पदक जितेर आफ्नो लयलाई कायम राखे।

उनको यो कौशल नेपालमा मात्र सीमित रहेन, छिमेकी देश भारतको दार्जिलिङ जिमखाना खुला टेनिसमा पनि उनले डबलतर्फ स्वर्ण र सिंगलमा उपविजेता बन्दै सिमाना पारिसमेत नेपाली झण्डा फहराए। यी मात्र होइन प्रदीपले १३औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि कास्य पदक र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतिष्ठित च्याम्पियनसिपमा दर्जनौ पदक हात परिसकेका छन्।

हरेक जित, हरेक पदक र हरेक सटसँगै प्रदीपको एउटै लक्ष्य छ— नेपाली टेनिसलाई नयाँ उचाइमा पु¥याउने र आफ्नो मर्यादाक्रम रक्षा गर्ने। ‘दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड’को यो अवसरमा राष्ट्रका गौरव टेनिसका प्रतिभा प्रदीपलाई धेरै–धेरै शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *