नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा १०औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् ।
पोखरामा बिहीबार सम्पन्न कार्यक्रममा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ नारायणी भण्डारी सर्वोत्कृष्ट भएका हुन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरेका छन् ।
पुरुषतर्फको विधाको मनोनयनमा विजेता खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए । भने महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा रहेकी थिइन् ।
अवार्ड अन्तर्गत पिलल्स च्वाइस अवार्ड भलिबलका खेलाडी राजन दर्लामीमगरले प्राप्त गरेका छन् । उनले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरे । यस विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपित खत्री मनोनयनमा परेका थिए । दर्शकको भोटका आधारमा सबैभन्दा बढि मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो । खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिइएको थियो ।
अवार्ड २०८२ अन्तर्गत टाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टिकाबहादुर बोगटी सम्मानित भएका छन् । २ पटक ओपम्पिकमा सहभागी बनेका एथलेटिक्स खेलाडी बोगटीलाई चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
अवार्डमा वर्ष उत्कृष्ट खेल संघसंस्था कास्की जिल्ला क्रिकेट संघ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी निभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानित भएका छन् । उनीहरुले अवार्डसँगै नगद ३ं५ हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरेका छन् ।
अवार्ड प्राप्त खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकास केसी, गुरुङ गहना घरका सञ्चालिका सिमा गुरुङ, रुपाकोट ज्योति सुनचाँदी पसलका सञ्चालक दशरथ सुनार, तमु धिं यूकेका ट्रष्टी महेश गुरुङ, फ्र्याङ्लिन एजुकेशनका कमल खड्का, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले अवार्डसहित सम्मान गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्मको कार्यक्रम गरिरहेको बताए । सिमित स्रोतका बाबजुत पनि गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई मासिक भत्ता उलब्ध गराइरहेको उनले जानकारी दिए । ‘गण्डकी प्रदेशलाई खेलकुदको माध्यमबाट विकास गर्दैै संघ र प्रदेश सरकार मिलेर मुस्ताङमा हाईअल्टिच्युट मैदान बनाउँदैछौै,’ उनले भने, ‘यसको उद्देश्य पनि गण्डकी प्रदेशलाई साहसिक खेलको माध्यमबाट विश्वमाझ परिचित गराउने हाम्रा लक्ष्य छ ।’
उदीयमान खेलाडीको खोजी गर्दै प्रदेश स्कुल टू ओपम्पियन कार्यक्रम गरिरहेको उनले बताए । पहिले खेलबाट मात्र जीवन धान्न परेको अवस्थाबाट अहिले सम्मानजनक रुपमा खेलाडीलाई अघि बढ्ने सक्ने गरी कार्यक्रम बनिरहेको उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले इभेन्टको सहरमा पोखरा स्पोर्ट्स अवार्डले अर्को रौनक थपेको बताए । यस अवार्डलाई पोखरा महानगरले अभिभाकत्व प्रदान गर्ने गरी कार्यपालिकामा छलफल गरिरहेको पनि उनले सुनाए ।
