इटहरी (सुनसरी) । इटहरीमा जारी तेस्रो मेयर कप अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा बिहीवार इटहरी उपमहानगरपालिका निलो र मेचीनगर नगरपालिकाले जित हात पारेका छन् ।
आज भएको पहिलो खेलमा इटहरी उपमहानगरपालिका निलोले भोक्राह नरसिंह गाउँपालिकालाई २ विकेटले पराजित गर्यो । जितका लागि २० ओभरमा १३८ रनको लक्ष्य पछ्याएको इटहरी निलोले १९ दशमलव ४ ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनाएर खेल आफ्नो पक्षमा पार्यो ।
इटहरीको जितमा राजु विश्वकर्माले ३१ रन बनाए भने सुमन पौडेलले ११ बलमा २७ रनको आक्रामक इनिङ खेले । आशिष मण्डलले २५ रन जोड्दा इशान खानले १३ रनको योगदान दिए । बलिङ तर्फ भोक्राहका अब्दुल्लाह अन्सारीले २ विकेट लिए ।
त्यसअघि इटहरीस्थित डिभिएम स्कुलको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भोक्राहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
उसका लागि सागर मल्लिकले अद्र्धशतकीय इनिङ खेले । ३४ बलको सामना गरेका उनले समान चार चौका र छक्काको मदतमा ५३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । रोशन घिमिरे खत्रीले ३१ र अफान ताहिरले २० रन जोडे । इटहरीका दिवस विष्टले ३, बलराम मण्डल र कविराज खत्रीले २–२ विकेट लिए ।
प्रतिस्पर्धात्मक लक्ष्य दिए पनि बलिङतर्फ अन्तिम समयमा दबाब कायम राख्न नसक्दा भोक्राह प्रतियोगिताबाट बाहिरिएको हो । खेलको प्लेयर अफद म्याच दिवस विष्ट घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए ।
बिहीबार भएको दोस्रो एलिमिनेटर खेलमा झापाको मेचीनगर नगरपालिकाले धरान उपमहानगरपालिकालाई ८ विकेटले पराजित गर्यो । धरानले दिएको ८२ रनको सामान्य लक्ष्य मेचीनगरले ९ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।
मेचीनगरको सहज जितमा भूपाल दंगालले २५ बलमा ३८ रन बनाए । भीष्मराज गौतमले १९ बलमा ३१ रनको योगदान दिए । अङ्कित सुबेदी ६ रनमा अविजित रहे भने सौजन प्रसाद घिमिरे ४ रनमा नट आउट रहे ।
त्यसअघि धरान उपमहानगरपालिका १४ दशमलव ५ ओभरमा मात्र ८१ रनमा अलआउट भएको थियो । अस्मित कुशवाहले नट आउट २५ रन बनाउँदा प्रकाश शाहले १४ रन जोडे । धरानका अन्य ब्याटरहरू मेचीनगरको बलिङ आक्रमणसामु टिक्न नसक्दा टोली सस्तैमा समेटिएको हो । खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार हात पार्न सफल भए ।
प्रतियोगिता अन्तर्गत शुक्रवार हुने पहिलो खेलमा मोरङको कटहरी गाउँपालिका र सुन्दरहरैचा नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा साबिक विजेता विराटनगर महानगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिता जेठ ५ गतेसम्म चल्नेछ । फाइनल खेलको विजेताले नगद ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
