विराटनगर । विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टीडब्लूवाईसी विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर जुटमिलको खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
विराटनगरको जितमा दुवै गोल अमित मिश्राले गरे । उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २१ सय रुपैयाँबाट पुरस्कृत भए ।
खेलको २३ औं मिनेटमा अमितले डिबक्स भित्रबाट उत्कृष्ट प्रहार गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, विराटनगरको त्यो खुसी धेरै समय टिक्न सकेन । अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै २९ औं मिनेटमा विराटनगरका सुजन चौधरीको खुट्टामा लागेर बलले आफ्नै पोस्टको जाली चुमेपछि खेल १–१ को बराबरीमा पुग्यो ।
बराबरीपछि आक्रामक बनेको विराटनगरले ३३ औं मिनेटमा पुनः अग्रता लियो । शिसिर लेखीले निकालेको क्रस पासलाई सदुपयोग गर्दै अमृतले व्यक्तिगत दोस्रो गोल गरे । त्यही गोल नै विराटनगरको जितका लागि निर्णायक बन्यो ।
पहिलो हाफमै २–१ ले पछि परेको पूर्व विजेता एपीएफले दोस्रो हाफमा सुधारिएको खेल पस्किए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । २०७९ सालको दोस्रो संस्करणको विजेता एपीएफका लागि ६५ औं मिनेटमा सुमन लिम्बूको कडा प्रहार पोस्ट बाहिरियो भने लगत्तै मनोज राईको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार सुनसरीको इनरुवा फुटबल क्लब र लालीगुराँस स्पोर्टिङ क्लब रानी, विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
