धनकुटामा आजदेखि १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।
सलहेशले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराएको हो । उद्घाटन खेल गोलरहित बराबरीमा सकिएपछि खेलको ट्राइबेकरबाट लिइएको थियो ।
ट्राइबेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, विदेशी खेलाडी डेभिट ताओ चेस्सी र सुजन डंगोलले गोल गरेका थिए भने रोमन भुजेलको प्रहार बाहिरिएको थियो ।
यस्तै राष्ट्रिय जागृतिका निवास फुयल, विदेशी खेलाडी केल्भीन, दोर्जे तामाङ मात्रै गोल गरेका थिए भने सुजन चौधरीको प्रहार बारमा लागेर बाहिरिएको थियो भने विदेशी खेलाडी ओलाबी ओफ्रेजको प्रहार सलहेशका गोलकीपर योगेश धिमालले रोकेका थिए ।
खेलको प्लेयर अफ द म्याच सलहेश रोशन पहाडी घोषित भए । उनले नगद ६ हजार रुपैयाँ तथा मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार गाईघाट फुटबल क्लब उदयपुर र विर्तामोड युनाइटेड क्लब झापाबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने भएका छन् । हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसअघि खेलको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले गरेका थिए ।प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
विं.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।
