विराटनगर महानगरपालिका मेयरकप अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १३ र वडा नम्बर १९ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराटनगरको बैजनाथपुर खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा वडा नम्बर १३ ले वडा नम्बर २ लाई ३–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
वडा नम्बर १३ को जितमा रोशन राईले दुई तथा कैलाश बस्नेतले एक गोल गरे । उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर १३ का रोशन राई खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १,१११ प्राप्त गरे ।
सोही दिन भएको दोस्रो खेलमा वडा नम्बर १९ ले वडा नम्बर ३ लाई ७–४ गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
वडा नम्बर १९ लाई जित दिलाउन मिलन लिम्बुले ह्याट्रिक गर्दा दोर्जे तामाङ, सुशान्त खवास, बिरेन चौधरी र सबिन माझीले १-१ गोल गरे । वडा नम्बर ३ का लागि अर्जुन कुँवर एक्लैले चार गोल गरे । अर्जुन नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु. १,१११ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार एक खेल हुने आयोजकले जनाएको छ । वडा नम्बर १६ र वडा नम्बर १७ का बीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा जारी प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । विजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
