विराटनगर । उदयपुरको ब्रदरहुड फुटबल क्लब विराटनगरमा जारी छैटौँ संस्करणको ‘मिल्स गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा उदयपुरका कविन्द्र धिमालले गोल गर्दा झापाका निगम घिसिङको प्रहार पोस्ट बाहिरिएको थियो ।
टाइब्रेकरमा उदयपुरका निवास फुयाल, सविन घिमिरे, सञ्जय धिमाल, निश्चल मुक्ताङ र विदेशी खेलाडी फोफोनाले गोल गरे । झापाका तर्फबाट फागुराम थारु, आशिष चापागाईं, आदित्य बानियाँ, सञ्जय लिम्बू र रोहन कार्कीले गोल गरे पनि निगम चुक्दा टोली प्रतियोगिताबाट बाहिरियो ।
खेलको म्यान अफ द म्याच उदयपुरका निश्चल मुक्ताङ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
खेलभरि दुवै टोलीले गोलका थुप्रै अवसरहरू गुमाएका थिए । १७ औँ मिनेटमा उदयपुरका कविन्द्र लिम्बूको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । लगत्तै उदयपुरका फोफनाको शक्तिशाली प्रहारलाई झापाका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।
मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता छ । २०७७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको विजेताले २ लाख १ हजार १११ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार १ सय र अन्य विधाका विजेतालाई ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
