साउदी प्राे लिगअन्तर्गत अल नासरले अल शबाबमाथि ४–२ काे रोमाञ्चक जित निकालेकाे छ ।
अल नासरकाे जितमा जाेआओ फेलिक्सले ह्याट्रिक पूरा गर्दा कप्तान क्रिस्टियानाे राेनाल्डाे एक गाेल थपे ।
खेलकाे तेस्राे र १०औं मिनेटमा फेलिक्सले गाेल गर्दै टोलीलाई सुरुआत दिलाएका थिए । अल शबाबका यानिक करास्काेले ३०औं मिनेटमा गाेल फर्काउँदै खेल २–१ मा ल्याएका थिए ।
दोस्रो हाफमा क्रिस्टियानाे राेनाल्डाेले ७५औं मिनेटमा गाेल गर्दै अल नासरकाे अग्रता बढाए । त्यसपछि अल शबाबका अली अल–बुलायहीले ८०औं मिनेटमा गाेल गर्दै खेललाई पुनः प्रतिस्पर्धात्मक बनाएका थिए ।
इन्ज्युरी समयमा दुवै टोलीका खेलाडीबीच तनाव समेत देखिएको थियो । खेलका क्रममा अल नासरका सालेम अल नज्दी तथा अल शबाबका गोलरक्षक मार्सेलाे ग्राेहेले पहेँलो कार्ड पाए ।
अन्तिम समयमा प्राप्त पेनाल्टीमा फेलिक्सले पुनः गाेल गर्दै टोलीको जित सुनिश्चित गरे । याे जितसँगै नासर ३२ खेलबाट ८२ अंकसहित साउदी प्राे लिगकाे शीर्ष स्थानमा रहेको छ ।
