विराटचौक । बेलका नगरपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा बेलका नगरपालिकाले आयोजक सुन्दरहरैँचा नगरपालिकालाई ४-१ गोल अन्तरले हरायो ।
बेलका नगरपालिकाको जितमा हिमाल मगरले ह्याट्रिक पूरा गरे भने दिशान रानाले एक गोल गरे । सुन्दरहरैँचा नगरपालिकाका लागि सनिश लिम्बुले एकमात्र सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच बेलका नगरपालिकाका हिमाल मगर घोषित भए । प्रतियोगिताअन्तर्गत भोलि सोमबारको तेस्रो क्वार्टरफाइनल खेल केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
