काठमाडौं । एपीएफका निश्चल थापा र नेपाल आर्मीकी सुरम्य शाक्यले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको पहिलो दिन बिहीबार स्वर्ण जितेका छन् । क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजमा निश्चल र गल्र्समा सुरम्यले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा निश्चलले गण्डकी प्रदेशका सुगम पौडेललाई ११–७, ६–११, ८–११, ११–५ र ११–९ को सेटमा पराजित गरे । लुम्बिनी प्रदेशका सुविन क्षेत्री तथा कोशीका गौतम तामाङ तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स फाइनलमा सुरम्यले नेपाल प्रहरीकी प्राज्ना महर्जनलाई १२–१०, ११–९ र ११–९ को सोझो सेटमा हराइन् । बागमती प्रदेशकी काभ्या शाक्य तथा एपीएफकी उरवी सुवाल तेश्रो बने ।

प्रतियोगिताको आयोजक टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत सिनियरमा ७ तथा जुनियर र क्याडेटमा समान २–२ गरी ११ स्पर्धा समावेश छन् ।
प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी-नेपाल आर्मी÷एपीएफ) गरी १० टिमका १ सय १६ खेलाडी सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
