काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारर्केश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोर्टस हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ ।
आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फुटबल खेलको विकास, विस्तार तथा युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
सन् २०२१ मा स्थापना भएको टिपटो स्पोर्टस एकेडेमीले विभिन्न प्रशिक्षण कार्यक्रम, फुटबल प्रतियोगिता तथा सामाजिक गतिविधिमार्फत नेपाली फुटबलमा योगदान पु¥याउँदै आएको छ । यसपटकको कार्यक्रम विशेषगरी विभिन्न उमेरसमूहका खेलाडीहरूको फुटबल कौशल विकासमा केन्द्रित रहने आयोजकको भनाइ छ ।
कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जापानका राष्ट्रिय थ्री अन थ्री फुटबल खेलाडी यासुहिरो नाबेटा नेपाल आएका छन् । उनले प्रतियोगिताअन्तर्गत सञ्चालन हुने प्रशिक्षण सत्रमा खेलाडीलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
कार्यक्रमअन्तर्गत जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म फुटबल क्लिनिक सञ्चालन हुनेछ । त्यस्तै, जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म च्याम्पियनसिप आयोजना गरिनेछ ।
क्लिनिकमा नेपालभरका विभिन्न एकेडेमी तथा विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका करिब १ सय ५० खेलाडीको सहभागिता रहनेछ । साथै, च्याम्पियनसिपमा यू–१४ र यू–१६ समूहका ३२ टोली सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिनेछ ।
प्रतियोगितामा सहभागी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
