काठमाडौं । कृषि विकास बैंकका टक्कर कुँवर र राजकुमार निरौलाको जोडीले १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष डबल्समा मंगलबार स्वर्ण जितेका छन् ।

भृकुटिमण्डपस्थित नेपाल प्रहरी क्लबमा भएको फाइनलमा उक्त जोडीले नेपाल विद्युत प्राधिकरणका विनोद अधिकारी र भक्तराज जोशीको जोडीलाई १४–२१, २५–२३ र २१–१८ को सेटमा पराजित गरे ।

५० वर्षमाथि पुरुष डबल्समा सञ्जयराज श्रेष्ठ र बसन्त थापाको जोडीले कृषिलाई अर्को स्वर्ण दिलाए । सञ्जय र बसन्तको जोडीले फाइनलमा एभरेष्ट बैंक लिमिटेडका दीपक महर्जन र सुमनराज श्रेष्ठको जोडीलाई २५–२३ र २१–१५ को सोझो सेटमा हराए ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको एक्जिक्युटिभ पुरुष डबल्समा एनटीसीका सुजितआनन्द मल्ल र हरिकृष्ण शर्माको जोडी पहिलो तथा विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठको जोडी दोश्रो बने ।

पुरुष सिंगल्समा विद्युतका भक्तराज जोशी पहिलो भए । उनले फाइनलमा कृषिका राजकुमार निरौलालाई २१–१८ र २१–१६ ले पाखा लगाए । सो स्पर्धाको महिलामा नेपाल नागरिक उड्डयन प्राधिकरणकी सुस्मिता रावत विजेता बनिन् ।

सुस्मिताले उपाधि भिडन्तमा विद्युतकी यामकुमारी गुरुङलाई सीधा सेटमा २१–१४ र २१–६ ले पन्छाइन् । ४५ वर्षमाथि पुरुष सिंगल्समा एनसेलका सुकन्त अधिकारी पहिलो भए । उनले फाइनलमा विद्युतका छवि भट्टराईलाई २१–९ र २१–९ ले पराजित गरे ।

विभिन्न ६ स्पर्धा समावेश ब्याडमिन्टनमा कृषिले सर्वाधिक २ स्वर्ण जित्यो । विद्युत, नागरिक उड्डयन, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जिते । ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टनसहित टेबलटेनिस सम्पन्न भएको छ ।

फुटसल र बुद्धिचाल हुन बाँकी छ । बुद्धिचाल बिहीबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् । एकदिने बुद्धिचालमा १३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *