काठमाडाैं । खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतकाे अध्यक्षमा नविन शाही निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न मञ्चकाे दाेस्राे साधारण सभाले शाहीकाे नेतृत्वमा‌ नयाँ कार्यसमिति निर्वाचित गरेको हाे ।

मञ्चकाे उपाध्यक्ष रमा केसी, सचिवमा अप्सरा विष्ट, काेषाध्यक्षमा सिर्जना बुढाथाेकी, सहसचिवमा -नविन‌ सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा राकेश पाैडेल (तिलक), टेकराज केसी, भावना राना‌ र मिलन श्रेष्ठ निर्वाचित भएका छन्। साधारण सभामा निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताकाे महत्व र जिम्मेवारी लगायतका विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का‌ सदस्य सचिव रविन्द्र चन्दले कर्णालीमा खेलाडीहरुकाे राष्ट्रिय स्तरमा‌ पुर्याउने र खेलाडीकाे प्राेफाइल निर्माण लगायतका गतिविधिमा नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए । कर्णालीमा रहेका लाेप उन्मुख र परम्परागत खेलकुद्काे विकासका‌ लागि कलम चलाउनुपर्ने बताउँदै आगामी दिनमा कर्णालीमा एनएसजेएफ स्पाेर्ट्स अवार्ड‌ गराउनेसमेत बताए ।

त्यस्तै केन्द्रीय प्रतिनिधि एवम् नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नविन‌ लुइटेलले आसन्न दिनमा सुर्खेतमा‌ हुन गरिरहेको दशाैं राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न खेलकुद पत्रकारकाे महत्वपूर्ण भूमिका रहने बताए । उनले समग्र खेलकुद र‌‌ खेलाडीकाे बृद्दि विकासमा‌ खेलकुद पत्रकारकाे महत्वपूर्ण याेगदान रहेकाे बताउँदै सुर्खेतमा‌‌ खेल‌ पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलाेसीप लगायतका गतिविधि सञ्चालन गर्न‌ सुझाव दिए । त्यस्तै खेलकुद विकास परिषद्ले नै बजेट व्यवस्था गरेर खेलकुद क्षेत्रमा याेगदान पुर्याएका पुराना खेलाडीहरुकाे खाेजमुलक‌ रिपोर्टिङ् लगायत खेलकुद पत्रकारिताको विकासका‌ लागि याेगदान गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले सुर्खेतकाे‌ खेलकुद विकासका लागि विगतदेखि नै लामाे समयदेखि रिपाेटिङ गर्दै आएकाे बताए । उनले माेफसलमा रहेर विधागत पत्रकारिता‌ गर्न कठिन‌ रहेको बताउँदै पछिल्लो समय सरकारले नै पत्रकारिता, मिडिया हाउस बन्द गराउन लागि परेको बताए । प्रदेश‌ सरकारको पनि केन्द्र सरकारकै रिमाल गरेर लाेक कल्याणकारी विज्ञापन राेकेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *