झापाको मेचीनगरमा प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले आज खेल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ ।
प्रतियोगिता यही जेठ १५ गतेदेखि हातेमालो खेल मैदानमा हुने आयोजक बज्र स्पोर्टस् एकेडेमीले जनाएको छ । एकेडेमीका अध्यक्ष फुर्मा लामाका अनुसार सहआयोजकमा चारआली युथ रहेको छ ।
जेठ २३ गते हुने प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद एक लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्ने लामाले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताका उत्कृष्ट विधागत खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
लामाका अनुसार प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता रहनेछ । उद्घाटन खेलमा इलामको रेड हर्स फुटबल क्लबले भारतको दार्जिलिङ फुटबल क्लबको सामना गर्नेछ ।
त्यस्तै, दोस्रो क्वार्टर फाइनल खेल जेठ १६ गते उर्लाबारी फुटबल क्लब र शनिश्चरे फुटबल क्लबबीच हुनेछ । तेस्रो क्वार्टर फाइनल खेल जेठ १७ गते चारआली युथ क्लबविरुद्ध मोरङको केराबारी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम क्वार्टर फाइनल खेलमा बुधबारेको आदर्श युवा क्लब र कचनकवलको बगान युथ क्लबले सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
