प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले एपीएफ क्लबलाई सुपर ओभरमा ८ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ ।

निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले समान १२४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जसमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै बाजी मार्न सफल भयो ।

एक ओभरमा लुम्बिनीले एक विकेट गुमाएर १५ रन बनायो । १६ रनको लक्ष्य पाएको एपीएफले एक विकेट गुमाएर ६ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफ क्लब ३९.४ ओभरमा १२४ रनमा समेटिएको थियो । एपीएफका लागि अविषेक गौतमले सर्वाधिक २८ रन बनाए । यस्तै दिपक बोहराले २० र सन्दीप जोराले १७ रनको योगदान दिए ।

लुम्बिनीका लागि अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । सन्तोष यादवले ३ तथा निर्मल गुरुङले २ विकेट झारे ।

जवाफमा १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश पनि ३४ ओभरमा १२४ रनमै अलआउट भयो । लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाउँदा आकाश त्रिपाठीले ३२ रनको योगदान दिए ।

एपीएफका लागि रोहित पौडेल, भुवन कार्की र युवराज खत्रीले समान २–२ विकेट लिए भने अविषेक गौतमले पनि महत्वपूर्ण विकेट हात पारे ।

जितसँग लुम्बिनीले एपीएफलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान ५ अंक भएपनि लुम्बिनी अघि परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *