विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा आजदेखि प्रथम बुढीगंगा गाोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बुढीगंगा गाउँपालिकाको आयोजनामा भएको उद्घाटन खेलमा सिरहाको सलहेश युवा क्लब विजयी भएको छ । बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा भएको खेलमा सलहेशले काठमाडौंको आरआइएफसीलाई ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ८० मिनेटको खेलको ११औं मिनेटमा सिरहाका फकुन्ले अभोयोमीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २३औं मिनेटमा फोडे फोफोनाले सिरहाको अग्रता दोब्बर बनाए । फोफोनाले ४३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
खेलको ४५ औं मिनेटमा रोमन भुजेलले सिरहालाई ४-० को स्कोरमा पुर्याए । ६३औं मिनेटमा सोलोमनले आरआइएफसीका लागि पहिलो गोल गरे । त्यसको दुई मिनेटपछि नै आरआइएफसीका बिकु राईले गोल गर्दै खेललाई ४-२ को अवस्थामा पुर्याए । खेलको ७४औं मिनेटमा आरआइएफसीका सोलोमनले ब्यक्तिगत दोस्रो तथा टोलीका तेस्रो गोल गरे पनि हार टार्न सकेनन् ।
खेलको म्यान अफ दि म्याच सिरहाका फोडे फोफोनाले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आइतबारको खेल धनकुटाको रारा फुटबल क्लब र झापाको चात्या सा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक पालिका बुढीगंगा, सिरहाको सलहेश युवा क्लब, धनकुटाको रारा फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चात्या सा फुटबल क्लब, काठमाडौंको आरआइएफसी, काठमाडौंको जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिइने छ ।
