पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भु बहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन-पार ६९ को स्कोरमा शीर्षस्थान बाँडे ।

१-ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौं, २-ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौं र र ३-ओभर ७२ सहित भुवन कुमार रोक्का आठौं स्थानमा रहेका छन् ।

४-ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीप कुमार लामाले संयुक्तरुपमा नवौं स्थान बाँडे । हिमालयन गल्फ कोर्समा शुक्रले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए ।

पहिलो, तेस्रो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले पाँचौं र नवौं होलमा एक-एक सट बचाए । ब्याक नाइनमा सम्हालिंदै २-अन्डर ३३ खेले ।

१५औं होलमा एक सट खेर फाल्दा १०औं, १४औं र १७औं होलमा बर्डी प्रहार गरे । पछिल्लो दुई प्रतियोगिता जितेका भुवनले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाउने क्रममा पहिलो नौ होलमा पार जोगाए । ब्याक नाइन पनि इभन-पार ३५ खेले ।

१०औं र १३औं होलमा बर्डी प्रहार गर्दा ११औं र १२औं होलमा बोगी खेपे । उनले कूल १४ वटा होलमा पार जोगाए। पोखराका घरेलु गल्फर भुबहादुरले पनि फ्रन्ट नाइन इभन-पार ३४ र ब्याक नाइन इभन-पार ३५ मा सकाए । उनले तेस्रो होलमा बर्डी र सातौं होलमा बोगी खेपे । यसपछि १२औं र १६औं होलमा बोगी खेप्दा १०औं र १५औं मा बर्डी प्रहार गरे ।

जयरामले बोगीबाट दिनको सुरूवात गरे र पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि १६औं होलमा बोगी खेल्दा बाँकी होलमा पार जोगाउँदै ब्याक नाइन १-ओभर ३६ मा सकाए ।

एमेच्योर राहुलले फ्रन्ट नाइन इभन-पार ३४ र ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे। पहिलो र १७औं होलमा एक-एक सट बचाउँदा नवौं र दशौं होलमा बोगी खेले । एमेच्योरतर्फ राहुलले ५ स्ट्रोकको अग्रता बनाए । प्रज्वल गुरूङ ५-ओभर ७४ सहित दोस्रो स्थानमा रहेका छन् ।

८-ओभर ७७ खेलेका कवि थापा तेस्रो स्थानमा रहेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ ।

दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ । १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिबारको प्रो-एम इभेन्टसँगै प्रतियोगिता समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *