सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । 

आज ३-अन्डर ६६ खेलेका उनले समग्रमा ३-अन्डर १ सय ३५ को स्कोरमा  शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन् । आज २-अन्डर ६७ खेल्दै समग्रमा २-अन्डर १ सय ३६ सहित शुक्र दोस्रो स्थानमा झरे । 

१-ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १-ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरेका छन् ।समग्रमा २-ओभर १ सय ४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए । उनले लगातार दोश्रो दिन १-ओभर ७० को कार्ड बनाए । पहिलो दिनका संयुक्त लिडर भुबहादुर गुरुङले आज ५-ओभर ७४ को प्रदर्शन गरे । समग्रमा ५-ओभर १ सय ४३ सहित घरेलु प्रो भुबहादुर पाँचौं स्थानमा तल झरे । 

समग्रमा ६-ओभर १ सय ४४ स्कोर खडा गरेका रमेश अधिकारीले दोस्रो दिनको खेल ४-ओभर ७३ मा सकाए। उनी छैटौं स्थानमा रहे । समग्रमा ७-ओभर १ सय ४५ को स्कोरका साथ सुरेश तामाङ र भुवन कुमार रोक्काले सातौं स्थान बाँडे । आज सुरेशले २-ओभर ७१ र भुवनले ४-ओभर ७३ खेले । आज ४-ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८-ओभर १ सय ४६ सहित नवौं तथा समग्रमा ९-ओभर १ सय ४७ सहित नेपाल नम्बर एक गल्फर निरज तामाङ दशौं स्थानमा रहेका छन् । निरजले आज ४-ओभर ७३ को प्रदर्शन गरे । 

यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले  शीर्षस्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । उनले तेस्रो, चौथो, पाँचौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । ५-पारको छैटौं होलमा डबल बोगी खेपे । यसपछि १० औं र १३ औं होलमा एक-एक सट बचाउँदा ११ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३४ मा पुरा गरे । 

शुक्रले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बोगी खेपे । दोस्रो र छैटौं होलमा एक-एक सट बचाए। यसपछि ब्याक नाइनमा सम्हालिंदै ३-अन्डर ३२ को स्कोर निकाले । उनले १०औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । 

जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १-ओभर ३५ खेले । यसपछि १०औं होलमा बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३५ मा सकाए । 

एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । उनले आज ३-ओभर ७२ सहित  समग्रमा ३-ओभर १ सय ४१ को स्कोर निकाले । पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौं स्थानमा झरे । किशन परियारले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । उनले समग्रमा ११-ओभर १ सय ४९ स्कोर जोडे । एमेच्योरतर्फ यी दुईले मात्र कट बनाए । 

समग्रमा १२-ओभर १ सय ५० स्कोरमा कट लागु हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनको लागी स्थान सुरक्षित गरे ।  प्रो तर्फ तोरण विक्रम शाही, रामे मगर, वसन्त राज गुरुङ, प्रदीप कुमार लामा, सुमन परियार, शिव कुमार माझी, दिनेश प्रजापति र दिपक मगरले कट बनाए । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । 

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *