सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन भोलि बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुँदैछ ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ । १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।

शनिबार हुने प्रो-एम इभेन्ट हुनेछ । सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक प्रोफेसनल गल्फर निरज तामाङसहित यो कोर्समा कोर्स रेकर्ड बनाएका भुवन नगरकोटी, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । प्रोफेसनल खेलाडीहरूलाई एमेच्योर राहुल विश्वकर्माले कडा चुनौती दिन सक्छन् ।

माछापुच्छ्रे हिमालको मनोरम दृश्य र विजयपुर खोलाको किनारमा रहेको आकर्षक कोर्सलाई नेपालकै चुनौतीपुर्ण गल्फ कोर्स मानिन्छ । साथै यो कोर्सलाई साहसिक गल्फ कोर्स मध्ये एक भनेर गल्फ डाइजेस्टले समेत मान्यता दिएको छ । जहाँ गल्फरहरूको लागि पनि यो कोर्समा उत्कृष्ट प्रदर्शन गर्नु चुनौती हुनेछ। हिमालयन गल्फ कोर्सलाई यो प्रतियोगिताको लागि तयार पारिएको छ । पार-६९ को १६ वटा होल रहेको कोर्समा पहिलो र दोस्रो होल दुई पटक खेलिनेछ ।

एनपिजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “हामी लगातार २६ औँ वर्ष यो प्रतियोगिता आयोजना गर्न पाउँदा अत्यन्त खुसी छौँ । निरन्तर सहयोगका लागि  प्रायोजक सूर्य नेपाल प्रालिप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । प्रोफेसनल र एमेच्योर दुवै खेलाडीहरूले रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन गर्नेमा म विश्वस्त छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *