गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा गण्डकी ४३ रनले विजयी भयो । गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपिएफ १८.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनमै समेटियो ।
एपिएफका सुमित महर्जनले २२ रन बनाउँदा ओपनरद्वय लोकेश बम र आशिफ शेखले समान १४ रन जोडे ।
करन केसीले १७ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले समान ३ विकेट लिए ।
सुवास भण्डारीले २ तथा कमल परियारले १ विकेट हात पारे। यससँगै गण्डकीले जारी प्रतियोगितामा पहिलो जित दर्ता गर्नुका साथै एपिएफविरुद्ध इतिहासमै पहिलो पटक जित निकाल्न सफल भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
